म २० वर्षको भएँ । मैले २ महिनाअघि एउटी यौनकर्मी महिलासँग बिनाकन्डम यौनसम्पर्क राखेको थिएँ। पछि मलाई एचआईभी एड्सको डर लाग्यो र चेक गराएँ, तर रिपोर्टमा नेगेटिभ देखिय । एचआईभी एड्स कति पछि थाहा हुन्छ र यसका लक्षण के-के हुन् ? यो रोग कत्तिको र कहाँ बढी पाइन्छ ?
असुरक्षित यौनसम्पर्क तथा एचआईभी संक्रमण
नियमित यौनसम्पर्क गर्न नपाएको स्थितिमा कुनै पनि व्यक्तिमा यौन तनाव बढ्दै जान्छ र त्यसलाई शान्त पार्ने बाटो खोजिन्छ । यसका लागि मानिसले अनेक उपाय अपनाउन सक्छन् र यसै क्रममा यौनकर्मीसँग यौनसम्पर्क हुन पुग्छ, जसको पृष्ठभूमिका सम्बन्धमा हामीलाई थोरै मात्र जानकारी हुन्छ । एचआईभी भएको जोसुकैसँग यौनसम्पर्क गर्दा रोग सर्न सक्छ । हामीलाई थाहा भएकै कुरा हो, यौनकर्मीसँग यौनसम्पर्क हुँदा एचआईभीलगायत अन्य यौन रोग सर्ने सम्भावना बढी हुन्छ। तपाईंले कन्डम प्रयोग नगर्नुभएकाले त्यसले जोखिम बढाउने नै भयो।
एचआईभी र एड्सको डर
पहिले त एड्स के हो थाहा पाउनु उचित होला । एचआईभी संक्रमण भएपछि बिस्तारै व्यक्तिको प्रतिरक्षा शक्ति कमजोर भएर विभिन्न रोग एवं जीवाणुको संक्रमणपछि त्यसै अनुसारका विभिन्न लक्षण देखिएको अवस्था एड्स (AIDS) हो । शरीरमा एचआईभी भए पनि एड्सको लक्षण देखिइनसकेको अवस्थालाई एचआईभी अवस्था भनिन्छ । त्यसैले एचआईभी भन्नु र एड्स भन्नु एउटै कुरा होइन । एचआईभी भएका व्यक्तिलाई हामी रोगी शब्द प्रयोग गर्दैनौं ।
यौनसम्बन्धी यस्ता कतिपय कुरामा संलग्न भएपछि वा यौनसम्पर्क गरेपछि मानिसहरू आफ्ना आधारभूत मूल्य-मान्यता नमानेको कुराले विचलित हुने भन्दा पनि एचआईभी/एड्सको कुरालाई लिएर बढी चिन्तित भएको पाइन्छ । नियालेर हेर्ने हो भने त्यसका विभिन्न कारण हुन्छन् । विशेष गरेर यौनसँग सम्बन्धित कतिपय कुरा नैतिकताको मुद्दासँग गहिरोसँग गाँसिएका हुन्छन् । एचआईभी संक्रमणका कारण आफूले लुकाउन चाहेका कतिपय कुरा बाहिर आउला अनि आफन्त अनि साथीभाइमाझ नैतिक धरातलमा आफू तल गिरुँला कि भन्ने भयले एचआईभी तथा एड्स सर्ने कुरामा चासो र त्रास निकै हुन्छ।
अहिले सकारात्मक परिवर्तन आए पनि एचआईभी भएकाहरूलाई खराब वा अनैतिक व्यक्ति भनेर हेयभावले हेरिने वा हेंला गरिने चलन विद्यमान भने उनीहरूप्रति सामाजिक जीवनको हरेक पक्षमा भेदभाव गरिन्छ । स्वास्थ्य समस्याभन्दा पनि पारिवारिक तथा सामाजिक रूपमा हुने हेयभाव तथा भेदभावपूर्ण व्यवहार सामना गर्नुपर्ने त्रासका कारण हुने समस्या बढी छ।
लक्षणहरू के-के देखा पर्छन् ?
एचआईभीको सन्दर्भ भने केही फरक छ । संक्रमण हुनासाथ हल्का फ्लूजस्तो लक्षण देखिन सक्छ तर कतिले त्यस्तो लक्षण थाहै नपाउन सक्छन् । एचआईभी शरीरमा भए पनि वर्षौंसम्म कुनै लक्षण नदेखिन सक्छ । एचआईभीको संक्रमण भएर प्रतिरक्षा शक्ति क्षीण हुँदै गएपछि विभिन्न रोग लागेर त्यसै अनुसारका लक्षण देखिएको अवस्था नै एड्स हो । सामान्यत: त्यस्ता लक्षणमा ज्वरो आउनु, पखाला लाग्नु, वजन घट्नु तथा कुपोषणका लक्षणहरू देखिनु, छालाका विभिन्न समस्या आउनु, मुख तथा घाँटीमा काई (सेतो), हर्पिस आउनु, दाँत वा गिजाका समस्याहरू, खोकी वा श्वास फेर्न गाह्रो हुनु, चाँडै नै थकाइ लाग्नु वा कमजोरी हुनु आदि हुन् । याद गर्नुपर्ने कुरा के भने यी लक्षण अन्य कतिपय रोगमा पनि देखिन्छन् । त्यसैले लक्षणकै आधारमा एड्स भए नभएको भन्न गारो हुन्छ।
तपाईंको मनमा कहिले लक्षण देखिएला भनेर लाग्न सक्छ । एचआईभीको सन्दर्भमा भने एड्सको स्थितिमा नपुगेसम्म खासै लक्षण देखिन गारो छ र त्यसका लागि दसौं वर्ष वा त्यसभन्दा बढी समय पनि लाग्नसक्छ । कतिपयलाई त त्यसभन्दा बढी समयमा पनि एड्सको लक्षण नदेखिएको अवस्था छ । एचआईभी शरीरमा भए-नभएको यकिन गर्न एचआईभीसँग सम्बन्धित प्रतिजैविकी परिक्षण गरिन्छ। सामान्यत: शरीरमा एचआईभी प्रवेश गरेपछि रगतमा त्यसविरुद्ध प्रतिजैविकी बन्न केही समया लाग्छ। कसैमा केही चाँडो नै देखिने भए पनि यस्तै ३ महिनामा रक्तपरीक्षण गरेर शरीरमा एचआईभी भए-नभएको यकिन गरिन्।
यस्ता रक्त परीक्षणमा नतिजा नकारात्मक (नेगेटिभ) हुनुले एचआईभी आफ्नो शरीरमा नभएको जनाउँछ भने सकारात्मक (पोजिटिभ) हुनुले भएको तर यी परीक्षणभन्दा पहिले परामर्श लिनु आवश्यक छ।
के गर्ने ?
तपाईले एचआईभी परीक्षण पनि गराइसक्नुभएको छ र त्यसमा नकारात्मक देखिएको छ, अर्थात तपाईमा् एचआईभी छैन भनिएको छ । त्यसैले तपाईले अनावश्यक रूपमा चिन्ता गर्नु उपयुक्त होइन।
मुख्य कुरा के हो भने तपाईंले आफ्ना हरेक यौनसम्पर्कलाई सुरक्षित बनाउनु आवश्यक छ । हावा, पानी वा कीटाणुबाट सर्ने कतिपय रोगमा संक्रमण कुन क्षेत्रमा बढी छ भनेर थाहा पाई उक्त क्षेत्रमा नजाँदा वा जानुपरेको स्थितिमा अन्य उपाय अपनाउँदै जोखिम कम गर्न सकिएला, तर यो व्यक्तिसँगको यौनसम्पर्कबाट सर्ने भए भएकाले जनसंख्यामा कम नै एचआईभी भएको भए पनि तपाईंले यौनसम्पर्क राख्ने व्यक्तिमा एचआईभी छ भने कुरै सकियो। आशा गर्छु, कुरा बुझ्नु नै भयो होला।